युएस ओपनमा सहभागिताका लागि कराते खेलाडी सुमनलाई लनर्सको प्रायोजन
देउखुरी, दाङ, जेठ २९ गते शुक्रबार
लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी प्रालिले नेपाली कराते खेलाडी सुमन तिमल्सिनालाई आगामी युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाउन प्रायोजन गर्ने भएको छ।
यस सम्बन्धी सम्झौतापत्रमा लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुली र खेलाडी सुमन तिमल्सिनाले हस्ताक्षर गरेका छन्। प्रतियोगिता अमेरिकाको फ्लोरिडामा आगामी जुलाई २ देखि ४ तारिखसम्म आयोजना हुनेछ।
सम्झौताअनुसार प्रतियोगितामा सहभागी हुन आवश्यक दुईतर्फी हवाई टिकटको व्यवस्था लनर्सले गर्नेछ। सुमनले लनर्सले आफ्नो अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तर साथ दिँदै आएको बताउँदै यसपटक पनि सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गरे। सुमन लनर्सका ब्रान्ड एम्बासडरसमेत हुन्।
प्रतियोगितामा सुमनले पुरुष एकल काता विधामा प्रतिस्पर्धा गर्नेछन्। उनले सन् २०२३ मा सम्पन्न यही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस सफलतापछि पुनः सोही प्रतियोगितामा सहभागी हुन लागेका सुमनले यसपटक पनि पदक जित्ने लक्ष्य राखेका छन्।
यसअघि लनर्सले सन् २०२२ मा जर्मनीमा आयोजित चिमनिज ओपन कराते प्रतियोगितामा सहभागिताका लागि पनि सुमनलाई प्रायोजन गरेको थियो। उक्त प्रतियोगितामा पनि सुमनले स्वर्ण पदक जित्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाएका थिए।
लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका सुमन नेपाली करातेका सफल खेलाडीमध्ये एक मानिन्छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि निजी क्षेत्रबाट प्राप्त हुने यस्ता सहयोगले खेलाडीलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले नेपाली खेलकुद क्षेत्रका प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्दै आएको छ। संस्थाले सुमनजस्ता खेलाडीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आगामी युएस ओपनमा सुमनले उत्कृष्ट प्रदर्शन गर्दै पुनः नेपालको झण्डा फहराउने अपेक्षा गरिएको छ।


