माफ बास्केटबलमा ४४ टोली

काठमाडौं, भदौ २५ गते ।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा तीन विधामा ४४ टोलीको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १५, गल्र्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

तीनै विधाका सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। समूह चरणमा शीर्ष दुई स्थान हासिल गर्ने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

गोल्डेनपिक हाइ स्कुलको संयोजन तथा व्यवस्थापनमा हुने प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टोलीले मात्र सहभागिता जनाउनेछन्। हाल माफमा १६ विद्यालय आबद्ध छन्।

प्राचार्य राईले विद्यालय तहमा बास्केटबलको विकास, विस्तार तथा प्रवद्र्धनसँगै प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

प्रतियोगिताका खेल काठमाडौं महानगरपालिका–६, सरस्वतीनगरस्थित गोल्डेनपिक हाइ स्कुलको कोर्टमा सञ्चालन हुनेछन्।

माफले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत बास्केटबल, भलिबल र फुटसललगायत विभिन्न अतिरिक्त क्रियाकलापका प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ