भ्रामक समाचार रोक्न सरकार कडाइमा, आधिकारिक पुष्टि बिना सामग्री नप्रसारण गर्न आग्रह
काठमाण्डौ, बैशाष, ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयले यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको उल्लेख गरेको छ। भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको पनि जनाएको छ।
मन्त्रालयले सबै समाचार प्रदायक संस्था तथा व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका तथा हचुवाका भरमा कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ। यदि त्यस्ता आधारहीन र भ्रामक सामग्री प्रकाशन वा प्रसारण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
विशेषगरी विद्युतीय कारोबार ऐन लगायतका विद्यमान कानून बमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
त्यस्तै, मन्त्रालयले आम सर्वसाधारणलाई पनि यस्ता सूचना फैलाउन सहयोग पुग्ने गतिविधिमा संलग्न नहुन तथा सामाजिक सञ्जालमा कुनै सामग्री साझा गर्नुअघि त्यसको आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न अपिल गरेको छ।
यस सम्बन्धमा कसैले भ्रामक सूचना फैलिएको थाहा पाएमा वा कुनै गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता पोर्टल’ मार्फत उजुरी दर्ता गर्न वा तोकिएको फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।



