बास्केटबल टोली चीन प्रस्थान
देउखुरी, दाङ, जेठ २७ गते बुधबार
आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ ।
जुन १० देखि १५ तारिखसम्म आयोजना हुने ३x३ (थ्री बाइ थ्री) स्वरूपको प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्नेछ ।
नेपालको टोलीमा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाह रहेका छन् । टोलीको प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।

नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराका अनुसार यो प्रतियोगिता आगामी अक्टोबरमा मकाउमा हुने फिसु विश्व विश्वविद्यालय खेलकुदको छनोटका रूपमा समेत रहेको छ ।
टोलीलाई मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार राजु सिंहले बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।


