फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोली, १०४ खेल र नयाँ इतिहासको सुरुआत
देउखुरी, दाङ, जेठ २८ गते बिहिबार । विश्व फुटबल प्रेमीको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ। बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ। ४८ राष्ट्र, १०४ खेल र ३९ दिनसम्म चल्ने रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो। पहिलोपटक ४८ टोलीको सहभागिता रहने भएकाले प्रतियोगितालाई विश्वकपको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ। यसअघि ३२ टोलीसम्म सीमित प्रतियोगितामा यसपटक थप १६ राष्ट्रले विश्व फुटबलको सर्वोच्च मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी १६ शहरमा आयोजना हुनेछ। जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनलसँगै विश्व फुटबलको अर्को ऐतिहासिक अध्याय पूरा हुनेछ। उपाधि जित्ने टोलीले कुल आठ खेल खेल्नुपर्नेछ।
सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली सहभागी थिए र जम्मा ५२ खेल भएका थिए। यसपटक भने टोली र खेल दुवै संख्या दोब्बर पुगेका छन्।
भव्य उद्घाटन समारोह
यसपटक उद्घाटन समारोह पनि विश्वकपकै जस्तै ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ। पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित नरही मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा एकसाथ आयोजना गरिनेछ। तीनै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने तयारी गरेका छन्।
मुख्य उद्घाटन समारोह मेक्सिको सिटीमा हुनेछ, जहाँ चर्चित कलाकार शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइलालगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ।
आयोजक राष्ट्रमाथि दबाब र अपेक्षा
घरेलु समर्थकको ठूलो अपेक्षाबीच तीनै आयोजक राष्ट्र राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रँदै छन्।
क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन्। अल्फोन्सो डेभिजको फिटनेस केही चिन्ताको विषय भए पनि क्यानडालाई नकआउट चरण पुग्ने बलियो दाबेदार मानिएको छ।
मेक्सिको पछिल्ला वर्षहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि प्रशिक्षक हाभियर अगुइरेको आगमनपछि टोलीको आत्मविश्वास बढेको देखिन्छ। विश्वकपअघि सर्बियामाथि ५–१ को प्रभावशाली जितले टोलीको मनोबल थप उकासेको छ।
उता अमेरिकाले प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ ऊर्जा प्राप्त गरेको छ। सेनेगलमाथिको जित र जर्मनीविरुद्धको प्रतिस्पर्धात्मक प्रदर्शनले अमेरिकी समर्थकमा ठूलो आशा जगाएको छ।
मेसी र रोनाल्डोको अन्तिम विश्वकप ?
विश्व फुटबलका दुई महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमाथि यसपटक पनि सबैको नजर रहनेछ।
अर्जेन्टिनाका कप्तान मेसी आफ्नो टोलीलाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने लक्ष्यमा छन्। प्रतियोगिताका क्रममा ३९ वर्ष पुग्ने मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। सन् १९६२ पछि कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न नसकेको अवस्थामा अर्जेन्टिनासामु इतिहास रच्ने अवसर पनि छ।
उता ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो अझै पनि पोर्चुगलको मुख्य हतियारका रूपमा रहेका छन्। विश्व फुटबलका अधिकांश उपलब्धि हासिल गरिसकेका रोनाल्डोका लागि विश्वकप उपाधि अझै अधुरो सपना बनेको छ। बलियो टोलीका कारण पोर्चुगललाई यसपटक उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ।
एमबाप्पे, केन र यामालमाथि विशेष नजर
फ्रान्सका कप्तान किलियन एमबाप्पे प्रतियोगिताका प्रमुख आकर्षणमध्ये एक हुन्। क्लब फुटबलमा अपेक्षाकृत कठिन सिजन बिताए पनि विश्वकपमा उनी फेरि चम्किने विश्वास फ्रान्सेली समर्थकमा छ।
इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन्। नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्डले ६० वर्ष लामो विश्वकप उपाधि खडेरी अन्त्य गर्ने लक्ष्य राखेको छ।
त्यस्तै स्पेनका युवा सनसनी लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा युरोपका नयाँ पुस्ताका प्रतिभावान खेलाडीहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
गर्मी मौसम पनि चुनौती
यसपटक प्रतियोगिताको अर्को चर्चित विषय मौसम बनेको छ। उत्तर अमेरिकाका केही शहरमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ, जसले खेलाडीहरूको प्रदर्शनमा प्रभाव पार्न सक्छ।
फिफाले त्यसलाई ध्यानमा राख्दै प्रत्येक हाफमा ‘कुलिङ ब्रेक’ अर्थात् पानी पिउने विशेष विश्रामको व्यवस्था गरेको छ। प्रशिक्षकहरूले यसलाई रणनीति परिवर्तन र खेलाडीलाई निर्देशन दिने अवसरका रूपमा समेत प्रयोग गर्नेछन्।
लामो क्लब सिजनपछि विश्वकप खेल्न आएका खेलाडीहरूलाई मौसमसँग अभ्यस्त हुन समय लाग्न सक्ने भएकाले सुरुआती चरणमा केही अप्रत्याशित नतिजा आउने सम्भावना पनि बढेको छ।
डार्क हर्स टोलीको चुनौती
विश्वकप केवल ठूला राष्ट्रहरूको प्रतिस्पर्धा मात्र होइन। हरेक संस्करणमा केही अप्रत्याशित टोलीले नयाँ इतिहास रच्ने गरेका छन्।
यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगललाई सम्भावित ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको छ।
एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोसँग ठूला टोलीलाई स्तब्ध पार्ने क्षमता छ।
त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरू पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान उत्रिनेछन्।
विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव सुरु हुन अब केही घण्टा मात्र बाँकी छ। आगामी ३९ दिन विश्वभरका करोडौं समर्थकको ध्यान उत्तर अमेरिकामा केन्द्रित हुनेछ, जहाँ नयाँ नायक जन्मिनेछन्, नयाँ इतिहास लेखिनेछ र अन्ततः एउटा राष्ट्रले विश्व च्याम्पियनको गौरव प्राप्त गर्नेछ।


