पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ
काठमाडौं, असोज २३ गते ।
जापानको आइची–नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र परिषद्की सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।
अक्टोबर १८ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले आठ खेलमा १९ खेलाडीसहित सहभागिता जनाउनेछ। नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, पावर लिफ्टिङ, पौडी, जुडो र ह्वीलचेयर टेनिसमा प्रतिस्पर्धा गर्नेछ।
तेक्वान्दोमा पलेशा गोवर्धन र रेनु तामाङले नेपालको प्रतिनिधित्व गर्नेछन्। एथलेटिक्समा प्रभा आङदेम्बे, सृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ सहभागी हुनेछन्। त्यस्तै, ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेम्जोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राईले प्रतिस्पर्धा गर्नेछन्।
पावर लिफ्टिङमा रजनी राई र पवन घर्ती मगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य तथा ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
टोलीमा विभिन्न खेलका प्रशिक्षक, अफिसियल तथा चिकित्सक पनि सहभागी हुनेछन्। टोलीको सेभ द मिसनको जिम्मेवारी केदारबाबु सिवाकोटीले सम्हाल्नेछन्।
सेभ द मिसन सिवाकोटीका अनुसार तेक्वान्दो र जुडोका खेलाडी तथा पदाधिकारी शनिबार जापान प्रस्थान गर्नेछन्। अन्य खेलका टोली क्रमशः जापान जानेछन्।
नेपालले पहिलो संस्करणदेखि नै पारा एसियाली खेलकुदमा नियमित सहभागिता जनाउँदै आएको छ। अहिलेसम्म नेपालले यस प्रतियोगितामा एक पदक जितेको छ। चीनको हाङझावमा सम्पन्न चौथो संस्करणमा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्य पदक जितेकी थिइन्। उनी पेरिस पारालिम्पिककी कांस्य पदक विजेता पनि हुन्।
यसपटक पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने लक्ष्य राखेका छन्।


