पाकिस्तानका टी–२० कप्तान फर्हान नेपाल आइपुगे, कर्णाली याक्समा आबद्ध
काठमाडौं, कात्तिक ८ गते।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तानका टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका फर्हानलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का प्रतिनिधिले स्वागत गरेका थिए। उनी आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सबाट खेल्नेछन्।
कर्णाली याक्सले शुक्रबार ३० वर्षीय दायाँहाते शीर्षक्रमका ब्याटर फर्हानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको थियो। उनी कर्णालीमा आबद्ध हुने पाकिस्तानको राष्ट्रिय टोलीका दोस्रो खेलाडी हुन्। यसअघि बिहीबार पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई टोलीले अनुबन्ध गरेको थियो। तलात पनि नेपाल आइसकेका छन्।
फर्हानले सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले १ हजार ५५४ रन बनाएका छन्। उनको नाममा दुई शतक र १३ अर्धशतक छन्। पछिल्लो समय रावलपिण्डीमा खेलेका तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले अर्धशतक बनाएका थिए।
कर्णाली याक्सले एनपीएलको तेस्रो संस्करणका लागि ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। पाकिस्तानका हुसैन तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई यसअघि नै टोलीमा भित्र्याएको कर्णालीले शुक्रबार दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई पनि अनुबन्ध गरेको थियो।
त्यस्तै, दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि कर्णाली याक्समा छन्। वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबरले पहिलो पटक एनपीएल खेल्न लागेका हुन्।
कर्णाली याक्सले घरेलु खेलाडीका रूपमा मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ।
कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सले विदेशी तथा घरेलु खेलाडीको संयोजनसहित मैदानमा उत्रने तयारी गरेको छ।


