तिलिचो तालमा आयोजित रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा समावेश

काठमाडौं, बैशाख १८ गते
नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङस्थित तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याच ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’मा समावेश भएको छ।

समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित विश्वकै अग्ला तालमध्ये एक तिलिचोमा आयोजना गरिएको रेस्लिङ प्रतियोगितालाई उच्च उचाइमा सम्पन्न खेलकुद गतिविधिका रूपमा रेकर्डमा समावेश गरिएको हो।

गत नोभेम्बर २६ मा सम्पन्न उक्त प्रतिस्पर्धामा नेपालका भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए। सो खेलमा दुवै नेपाली खेलाडी विजयी भएका थिए।

पूर्व उपसभामुख इन्दिरा रानाले एक कार्यक्रमबीच भगवती र अस्मितालाई उक्त उपलब्धिको प्रमाणपत्र प्रदान गरिन्। फाउन्डेसनमा भगवती अध्यक्ष तथा अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन्।

फाउन्डेसनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। विश्वकै अग्लो स्थानमा रेस्लिङ खेल्दै कीर्तिमान कायम गर्ने उद्देश्यले यसअघि सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटर उचाइमा रहेको कालापत्थरमा पनि मैत्रीपूर्ण रेस्लिङ आयोजना गरिएको थियो।

एभरेष्ट दिवसको अवसरमा आयोजित उक्त खेलमा भगवती खड्काले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् भने अस्मिता सुनारले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।

उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवर्द्धन गर्दै नेपाललाई साहसिक खेलकुद गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले यस्ता गतिविधि सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ