तार्केश्वर नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन
काठमाडौं, वैशाख ११ । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तार्केश्वरले समग्र उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
प्रतियोगितामा तार्केश्वर नगरपालिकाले ४४ स्वर्ण, १३ रजत र २४ कांस्य पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ। विभिन्न विधामा सशक्त उपस्थिति जनाएको तार्केश्वरले एथलेटिक्सतर्फ सबैभन्दा बढी २४ स्वर्ण पदक जितेको छ भने भलिबल र कबड्डीमा समान १–१ स्वर्ण हात पारेको छ। त्यसैगरी उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्दै टोलीले समग्र रूपमा प्रभावशाली प्रदर्शन गरेको थियो।
प्रतियोगितामा चन्द्रागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो। यस्तै, नागार्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य पदकसहित तेस्रो स्थानमा सीमित भयो।
काठमाडौँ जिल्लाका विभिन्न नगरपालिका बीच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको प्रतियोगितामा ६ वटा खेल समावेश गरिएको थियो। खेलकुदमार्फत युवा प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको विकासमा टेवा पुर्याएको आयोजकले जनाएको छ।
लगातार तेस्रो पटक उपाधि जित्दै तार्केश्वर नगरपालिकाले आफ्नो खेलकुद क्षेत्रमा सशक्त उपस्थिति पुनः प्रमाणित गरेको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूको प्रदर्शनले आगामी राष्ट्रियस्तरका प्रतियोगिताका लागि समेत सम्भावना उजागर गरेको खेलकुदकर्मीहरूको भनाइ छ।


