जनता माविका वरिष्ठ शिक्षक देवलाल यादवलाई भव्य बिदाई, ५१ हजारको अक्षयकोष स्थापना
बालकृष्ण थापा क्षेत्री
देउखुरी दाङ, २०८३ जेठ १९, सोमबार
जनता माध्यमिक विद्यालयमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक श्री देवलाल यादव सरलाई आज एक विशेष कार्यक्रमका बिच भावपूर्ण बिदाई गरिएको छ। वि.सं. २०४२ सालबाट शिक्षण पेसामा प्रवेश गर्नुभएका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म यसै विद्यालयमा अनवरत रूपमा सेवा पुर्याउनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार योगीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का सदस्य श्री डम्बरबहादुर योगीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको हो।
https://www.facebook.com/share/v/1JbNfoszDV
सुखद निवृत्त जीवनको शुभकामना




कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि डम्बरबहादुर योगी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्वय ढकबहादुर महतारा र हरि सुवेदी, तथा निवर्तमान प्रधानाध्यापक वासुदेव वेल्वासेले निवृत्त शिक्षक यादवको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँहरूले यादवको आगामी निवृत्त जीवन सुखद, स्वस्थ र फलदायी रहोस् भनी कामना गर्नुभयो।
दोसल्ला र सम्मानपत्रसहित बिदाई

लामो समयसम्म शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मानपत्र र विभिन्न कोशेली प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक श्री नेत्रप्रसाद खनाल सरले सम्मानपत्र हस्तान्तरण गर्दै उहाँलाई बिदाई गर्नुभएको थियो। सोही अवसरमा निवृत्त शिक्षक देवलाल सरले प्रधानाध्यापक खनाललाई फूलसहितको गमला प्रदान गर्नुभएको थियो।
शिक्षक भानु जीएमले संचालन गर्नुभएको उक्त भावुक तथा गरिमामय कार्यक्रममा उपस्थित अभिभावक, सहकर्मी शिक्षक र विद्यार्थीहरूले टिका तथा माला लगाइदिएर उहाँको सुखद भविष्यको कामना गरेका थिए।
मातापिताको स्मृतिमा अक्षयकोषको घोषणा
बिदाई कार्यक्रमकै अवसरमा निवृत्त शिक्षक देवलाल यादव सरले आफ्नो सेवा अवधिको सुखद समापन गर्दै एक उदाहरणीय कार्यको घोषणा गर्नुभएको छ। उहाँले आफ्ना पूजनीय आमाबुवा मायादेवी अहिर र चिन्नु अहिरको स्मृतिमा विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई पुरस्कृत गर्ने उद्देश्यले रु. ५१,१५१/- (एकाउन्न हजार एक सय एकाउन्न ) को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ। उहाँको यस परोपकारी कार्यको सम्पूर्ण उपस्थित महानुभावहरूले उच्च सराहना गरेका थिए।








