छैटौँ त्रियोग अन्तरविद्यालय चेस सम्पन्न, ७६ विद्यालयका ६ सयभन्दा बढी खेलाडी सहभागी
काठमाडौं, साउन १० ।
आयोजक त्रियोग हाई स्कुलको ४०औँ वार्षिकोत्सवको अवसरमा आयोजित छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ७६ विद्यालयका ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिताको टोलीतर्फ कक्षा १ देखि ३ समूहमा आयोजक त्रियोग हाई स्कुल र अन्नपूर्ण स्कुल संयुक्त रूपमा पहिलो भए। कक्षा ४ र ५ समूहमा पुष्प सदन स्कुल, कक्षा ६ र ७ समूहमा मार्भलस स्कुल तथा कक्षा ८ देखि १० समूहमा मातृभूमि स्कुल पहिलो स्थानमा रहे।
व्यक्तिगततर्फ कक्षा १ देखि ३ छात्रामा अन्नपूर्ण स्कुलकी रिहाना श्रेष्ठ प्रथम, युरो स्कुलकी आदिसी भट्टराई द्वितीय तथा ब्रिटिस स्कुलकी भार्गभी बरारिया तृतीय भइन्। छात्रतर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, नितेन मेमोरियलका अभिषेक विके दोस्रो र त्रियोगका देब्यान पाण्डे तेस्रो भए।
कक्षा ४ र ५ छात्रामा इम्पेरियल स्कुलकी अग्रता आचार्य प्रथम, सेन्ट मेरिजकी श्रीषा बल्ल द्वितीय तथा पुष्प सदनकी परिश्री श्रेष्ठ तृतीय भइन्। छात्रतर्फ तिलिङटार स्कुलका राजन साह पहिलो, रातो बङ्गलाका सुभाङ्ग प्रधान दोस्रो र डीएभीका रियान्सु पौडेल तेस्रो भए।
कक्षा ६ र ७ छात्रामा मार्भलस स्कुलकी सोनालिका सराफ प्रथम, सुहानी सिंह द्वितीय तथा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ तृतीय भइन्। छात्रतर्फ सैनिक आवासीय माध्यमिक विद्यालयका हृदय बस्नेत पहिलो, ग्रिन ल्यान्डका सुलभ पन्थी दोस्रो तथा संस्कृति इन्टरनेसनल स्कुलका सम्भव थुलुङ तेस्रो भए।
कक्षा ८ देखि १० छात्रामा अन्नपूर्णकी ओजस्वी श्रेष्ठ प्रथम, अभिव्यक्ति तामाङ द्वितीय तथा मनकामना स्कुलकी जिज्ञासा खनाल तृतीय भइन्। छात्रतर्फ पाठशालाका ओसकार पन्थी पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा मातृभूमि स्कुलका साविद् प्रजापति तेस्रो भए।
विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गोपालसुन्दरलाल कक्षपती, पूर्व राष्ट्रिय चेस च्याम्पियन नवीन तण्डुकार र बद्रीलाल नेपाली, त्रियोग हाई स्कुलका कार्यकारी निर्देशक अजित लामा तथा प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिपा भट्टका अनुसार विद्यालयको ४०औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिताको संयोजन विद्यालयका चेस प्रशिक्षक, पूर्व राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए।


