गोरखा कप भलिबलमा घोराहीको गोरखा इन्टरनेशनललाई छात्र–छात्रा दुवैतर्फ उपाधि
बालकृष्ण थापा क्षेत्री
तुलसीपुर , २०८३ भदौ २७ गते
गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालित पाँच विद्यालयलाई समेटेर आयोजना गरिने वार्षिक खेलकुद तथा अतिरिक्त क्रियाकलापअन्तर्गत गोरखा कप भलिबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। तुलसीपुरस्थित गोरखा सेकेण्डरी स्कुलले आयोजना गरेको प्रतियोगितामा गोरखा इन्टरनेशनल सेकेण्डरी स्कुल, घोराहीले छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्दै दोहोरो उपाधि जितेको छ।
शनिबार गोरखा सेकेण्डरी स्कुल तुलसीपुरमा सम्पन्न प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत घोराही, लमही, देउखुरी र तुलसीपुरका चार विद्यालयका छात्र तथा छात्राका गरी ८ वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको छात्र तथा छात्रा दुवै विधामा गोरखा इन्टरनेशनल सेकेण्डरी स्कुल, घोराही प्रथम भएको हो। दुवै विधामा गोरखा सेकेण्डरी स्कुल, तुलसीपुरले दोस्रो स्थान हासिल गरेको छ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले शिक्षासँगै खेलाडी उत्पादनमा गोरखा ग्रुपले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

उहाँले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै अनुशासन, सहकार्य र सामूहिक एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रम गोरखा ग्रुप, दाङका उपाध्यक्ष बालकृष्ण रोका मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।
गोरखा सेकेण्डरी स्कुल तुलसीपुरका प्रधानाध्यापक विजयमान जि.एम.ले विद्यालयले शिक्षासँगै खेलकुदका गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा फुटबललगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले जिल्लाको खेल क्षेत्रको विकासमा गोरखा ग्रुपले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। त्यसैगरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले विद्यालय तहबाटै खेलाडी उत्पादनमा गोरखा ग्रुपको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

गोरखा ग्रुपको वार्षिक क्यालेन्डरमा विभिन्न प्रतियोगिता
गोरखा ग्रुपले आफ्ना पाँचवटै विद्यालयलाई समेटेर खेलकुद तथा बौद्धिक क्षमता विकाससँग सम्बन्धित विभिन्न प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेको छ। सोही कार्यक्रमअन्तर्गत आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको आयोजना गोरखा आवासीय स्कुल, तुलसीपुरले गरेको थियो।
हाजिरीजवाफ प्रतियोगितामा गोरखा मोडल सेकेण्डरी स्कुल, लमही प्रथम, गोरखा सेकेण्डरी स्कुल, तुलसीपुर दोस्रो र गोरखा आइडियल स्कुल, लालमटिया तेस्रो भएका थिए।
गोरखा ग्रुपको वार्षिक कार्यक्रमअन्तर्गत आगामी दिनमा क्रिकेट प्रतियोगिता गोरखा मोडल सेकेण्डरी स्कुल, लमहीमा आयोजना हुनेछ। त्यस्तै बास्केटबल प्रतियोगिता गोरखा इन्टरनेशनल सेकेण्डरी स्कुल, घोराहीमा र फुटबल प्रतियोगिता गोरखा आइडियल स्कुल, लालमटियामा आयोजना हुने जनाइएको छ।
फुटबल प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गतका विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।
गोरखा ग्रुपले सञ्चालन गरेका पाँचवटै विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराउँदै खेलकुद तथा बौद्धिक प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा, क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई वार्षिक क्यालेन्डरमै समावेश गरेको जनाएको छ।













