एसियाड पारा खेलाडीलाई टिसर्ट
काठमाडौं, असोज २० गते ।
जापानको आइची–नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडीलाई ह्वाइट याकले टिसर्ट प्रदान गरेको छ ।
दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी, सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई टिसर्ट हस्तान्तरण गरे ।
अक्टोबर १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालले आठ खेलमा सहभागिता जनाउनेछ । नेपालले सन् २०१० मा चीनको ग्वाङझावमा भएको पहिलो पारा एसियाडदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ ।
चीनको हाङझावमा सम्पन्न चौथो संस्करणमा तेक्वान्दोकी पलेशा गोबर्धनले कांस्य पदक जित्दै नेपाललाई पारा एसियाडमा ऐतिहासिक पदक दिलाएकी थिइन् । हालसम्म यही पदक नेपालले पारा एसियाडमा जितेको एक मात्र पदक हो ।


