एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

काठमाडौं, असोज ६ गते

जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टेनिस टोलीलाई इन्फिनिटी एक्टिभ वेयरले खेल पोशाक प्रदान गरेको थियो ।

नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौरभ गुरुङले टोलीलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रबन्ध निर्देशक गुरुङले आगामी दिनमा पनि नेपाली टेनिसको विकासका लागि संघसँग सहकार्य गर्न इन्फिनिटी तयार रहेको बताए । कार्यक्रममा नेपाल टेनिस संघले इन्फिनिटीलाई कदरपत्रसहित सम्मानसमेत गरेको थियो ।

जापानको नागोया सिटीस्थित हिगासियामा पार्क टेनिस सेन्टरमा सेप्टेम्बर २७ देखि अक्टोबर ३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ अभिषेक बाँस्तोला, प्रदीप खड्का र निसान श्रेष्ठ तथा महिलातर्फ शिभाली गुरुङ र स्वस्तिका विष्ट सहभागी हुनेछन् ।

अभिषेकको यो लगातार चौथो तथा प्रदीपको दोस्रो एसियाड सहभागिता हो । निसान, शिभाली र स्वस्तिकाले भने पहिलोपटक एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालले पुरुष तथा महिला सिंगल्स, डबल्स र मिक्स डबल्स गरी पाँच स्पर्धामा सहभागिता जनाउनेछ । टोली व्यवस्थापकमा नेपाल टेनिस संघका महासचिव निरेशबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा रेणुदेवी कोन्डा श्रेष्ठ छन् ।

टोली बुधबार जापान प्रस्थान गर्ने नेपाल टेनिस संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष मनोहरदास मुलसहित इन्फिनिटीका प्रतिनिधिले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

अध्यक्ष मुलले टोलीलाई खेल पोशाक उपलब्ध गराएकोमा इन्फिनिटीलाई धन्यवाद दिँदै आगामी दिनमा टेनिसका विभिन्न गतिविधिमा सहकार्यलाई थप विस्तार गर्न संघ इच्छुक रहेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ