एसईईमा शतप्रतिशत सफलता हासिल गरेका विद्यार्थीलाई गोरखा आइडियल स्कुलद्वारा सम्मानसहित विधिवत् विदाई

लालमटिया, दाङ, असार २८।
दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित गोरखा आइडियल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत सफलता हासिल गरेका कक्षा १० का विद्यार्थीलाई सम्मानसहित विधिवत् विदाई गरेको छ।

अन्य अधिकांश विद्यालयले एसईई परीक्षा अगावै विदाई कार्यक्रम आयोजना गर्ने परम्परा रहे पनि गोरखा आइडियल स्कुलले भने फरक अभ्यासलाई निरन्तरता दिँदै परीक्षा अघि विद्यार्थीलाई शुभकामना प्रदान गर्ने र नतिजा सार्वजनिक भएपछि मात्र सफल विद्यार्थीलाई सम्मानसहित विदाई गर्ने कार्यक्रम आयोजना गरेको हो।

यस वर्ष विद्यालयबाट एसईईमा सहभागी ४१ जना विद्यार्थीमध्ये सबै ४१ जना उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई टीका, फूलमाला तथा उनीहरूको प्राप्त जीपीए, एसईई दिएको वर्ष र विद्यालयको नाम उल्लेख गरिएको आकर्षक फोटो फ्रेम प्रदान गरी सम्मान गरिएको थियो। साथै विद्यालयका विषयगत शिक्षक–शिक्षिकालाई पनि टीका, फूलमाला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा बहादुर के.सी. ले सफल विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासन, निरन्तर अभ्यास र मेहनतले विद्यार्थीलाई सफलताको शिखरसम्म पुर्‍याउने बताउँदै विद्यालयले अपनाएको सम्मानको संस्कार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य महेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमप्रसाद बेलबासे, गोरखा सेकेन्डरी स्कुल, तुल्सीपुरका उपाध्यक्ष डोरबहादुर जी.सी., गोरखा मोडल सेकेन्डरी स्कुल, लमहीका प्राचार्य लोकमान रिजाल, हिरामणि पौडेल, स्यामलाल बराललगायत शिक्षासेवी, अभिभावक तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरूले पालैपालो प्रत्येक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई फूलमाला लगाई बधाई ज्ञापन गर्नुका साथै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए। विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानको पनि प्रशंसा गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण प्रत्येक विद्यार्थीलाई प्रदान गरिएको ठूलो आकारको फोटो फ्रेम थियो। उक्त फ्रेममा विद्यार्थीको तस्बिरसँगै एसईई दिएको वर्ष, प्राप्त गरेको जीपीए तथा अध्ययन गरेको विद्यालयको विवरण समावेश गरिएको थियो। विद्यालयका अनुसार विद्यार्थीको उपलब्धिलाई जीवनभर स्मरणीय बनाउने उद्देश्यले यस्तो विशेष सम्मानको व्यवस्था गरिएको हो।

विद्यालयले विद्यार्थीलाई मात्र सम्मान नगरी विद्यार्थीहरूको तर्फबाट विद्यालयलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। यसले विद्यालय, विद्यार्थी र अभिभावकबीच रहेको आत्मीय सम्बन्ध, विश्वास र सम्मानको भावलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा सहभागी केही अभिभावकले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, शिक्षकहरूको समर्पण र विद्यार्थीप्रतिको व्यवहारप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्दै विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको भए आफ्ना छोराछोरीलाई यहीँ अध्ययन गराउने इच्छा रहेको प्रतिक्रिया दिएका थिए। यसले विद्यालयप्रति अभिभावकको उच्च विश्वास र सन्तुष्टिलाई झल्काएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य बसन्तबहादुर पुन तथा माध्यमिक तहका संयोजक देव बुढाले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि दुर्गा बहादुर के.सी., भिमप्रसाद बेलबासेलोकमान रिजालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष महेन्द्र अधिकारीले विद्यार्थीको सफलतामा बधाई ज्ञापन गर्दै विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै विद्यार्थीको उपलब्धिलाई सम्मान गर्ने परम्परालाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तका साथै कार्यक्रमलाई समापन गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ