एनपीएलको तयारीमा विराटनगर किंग्स, भारतमा अभ्यास खेल

काठमाडौं असोज २३ गते।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ।

सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेक टोलीका अधिकांश खेलाडी सहभागी छन्। सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृंखलाका लागि राष्ट्रिय टोलीसँग छन्।

टोलीका अनुसार बसिर अहमद अक्टोबर ९ र लोकेश बम अक्टोबर ११ देखि प्रशिक्षणमा सहभागी हुनेछन्।

भारतस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा विराटनगर किंग्सले रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। प्रशिक्षणसँगै अभ्यास खेललाई पनि प्राथमिकता दिइएको टोलीले जनाएको छ।

विराटनगर किंग्सको प्रशिक्षण मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुका सुलक्सानाले गरिरहेका छन्।

मुख्य प्रशिक्षक प्रसादले भारतमा भइरहेको प्रशिक्षण सन्तोषजनक रूपमा अघि बढिरहेको बताएका छन्। खेलाडीहरूले राम्रो प्रशिक्षण पाउनुका साथै अभ्यास खेलबाट आफ्नो प्रदर्शन सुधार्ने अवसर पाइरहेको उनले बताए।

अभ्यास खेल र प्रशिक्षणले खेलाडीलाई एनपीएलका लागि तयार हुन सहयोग पुग्ने विश्वास टोलीले लिएको छ। प्रतियोगिता नजिकिँदै गर्दा विराटनगर किंग्सले खेलाडीको तयारी र टिम संयोजनलाई बलियो बनाउने प्रयास गरिरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ