इजरायल भ्रमणमा रहेका नेपाली मेयरहरूले आपत्कालीन सेवा प्रणालीको अवलोकन, सहकार्य विस्तारमा जोड

मिति: २०८३ असार २७ गते, शनिबार

काठमाडौं। इजरायल भ्रमणमा रहेका नेपाली स्थानीय तहका प्रमुखहरूले इजरायलको राष्ट्रिय आपत्कालीन चिकित्सा तथा उद्धार सेवा संस्था मागेन डेभिड अडोम (एमडीए) का अत्याधुनिक सेवा तथा पूर्वाधारको अवलोकन गरेका छन्।

इजरायलको विदेश मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखा र एमडीएको सहकार्यमा आयोजित म्युनी एक्स्पो २०२६ अन्तर्गत विश्वका ३० जना मेयरले रामला र जेरुसेलमस्थित एमडीएका विभिन्न केन्द्रहरूको भ्रमण गरेका हुन्। म्युनी एक्स्पो २०२६ जुन २३ र २४ मा सम्पन्न भएको थियो।

नेपाली प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह सुडी, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर र वडा नं. ३ का अध्यक्ष प्रेम थापा सहभागी थिए।

प्रतिनिधिमण्डलले एमडीएको राष्ट्रिय मुख्यालय तथा सञ्चालन केन्द्र, अत्याधुनिक राष्ट्रिय रक्त सेवा केन्द्र, राष्ट्रिय मानव दूध बैंक, प्यारामेडिक विद्यालय तथा राष्ट्रिय आपत्कालीन कल सेन्टरको अवलोकन गरेको थियो। साथै अत्याधुनिक एम्बुलेन्स तथा विशेष आपत्कालीन उद्धार सवारीसाधनको समेत निरीक्षण गरिएको थियो।

भ्रमणका क्रममा सहभागीहरूले इजरायलको आपत्कालीन तयारी, विपद् व्यवस्थापन, उद्धार प्रणाली तथा नियमित र विपद्का बेला एमडीएले प्रदान गर्ने जीवनरक्षक सेवाबारे जानकारी लिएका थिए। उनीहरूलाई आधुनिक उद्धार प्रविधि तथा विशेष आपत्कालीन उपकरणबारे समेत जानकारी गराइएको थियो।

एमडीएका महानिर्देशक एली बिनले नेपाल, पनामा र चिलीका मेयरहरूको भ्रमणले आपत्कालीन स्वास्थ्य सेवा र विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले एमडीएसँग रहेको अनुभव, प्रविधि तथा सञ्चालन प्रणाली अन्तर्राष्ट्रिय समुदायसँग साझा गर्न पाएकोमा खुसी व्यक्त गर्दै इजरायलको विदेश मन्त्रालयलाई यस पहलका लागि धन्यवाद दिएका छन्।

भ्रमणले सहभागीहरूबीच आपत्कालीन चिकित्सा सेवा, विपद् तयारी, उद्धार व्यवस्थापन तथा सम्भावित सहकार्यका विषयमा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ