अमेरिका–इरान तनावको छायाँमा समूह ‘जी’ : बेल्जियम दाबेदार, इरानमाथि विश्वको नजर

देउखुरी, दाङ,  जेठ २७ गते बुधबार

विश्वकप २०२६ को समूह ‘जी’ केवल फुटबल प्रतिस्पर्धाको कारण मात्र चर्चामा छैन, यस समूहमा समावेश टोलीहरूबीचको राजनीतिक र सामाजिक सन्दर्भले पनि यसलाई विशेष बनाएको छ। विशेषगरी अमेरिका र इरानबीच जारी तनावका कारण समूह ‘जी’ प्रतियोगिताको सबैभन्दा बढी चर्चा हुने समूहमध्ये एक बनेको छ।

इरानले विश्वकपमा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। रोचक संयोग के छ भने, समूह चरणका आफ्ना तीनवटै खेल इरानले अमेरिकी भूमिमै खेल्नुपर्नेछ। जुन १६ मा न्युजिल्यान्ड र जुन २२ मा बेल्जियमविरुद्धको खेल लस एन्जलसमा हुनेछ भने जुन २७ मा इजिप्टसँगको अन्तिम खेल सियाटलमा खेलिनेछ।

विश्वकपअघि इरानले सुरक्षा र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना खेलहरू मेक्सिकोमा सार्न फिफासँग छलफल गरेको थियो। तर फिफाले पूर्वनिर्धारित तालिकामा कुनै परिवर्तन नगर्ने निर्णय गरेपछि इरानी टोली अमेरिकी भूमिमै खेल्न बाध्य भएको हो।

समूह चरण सुरु हुनुअघि नै इरान र इजिप्टबीच हुने खेल अर्को कारणले पनि विवादमा तानिएको थियो। सियाटलमा हुने उक्त खेल एलजीबीटीक्यू+ समुदायले मनाउने ‘प्राइड विक’ सँग जुधेपछि दुवै राष्ट्रले धार्मिक तथा सांस्कृतिक आधारमा असन्तुष्टि व्यक्त गरेका थिए।

इरान : युद्धको बीचमा विश्वकपको चुनौती

इरान यसपटक विश्वकपको सबैभन्दा चर्चित टोलीमध्ये एक हो। राजनीतिक तनाव, सुरक्षा चिन्ता र अन्तर्राष्ट्रिय ध्यानका बीच एसियाली महारथी टोली लगातार चौथो तथा समग्रमा सातौं पटक विश्वकप खेल्दैछ।

फिफा विश्व वरीयतामा २१औँ स्थानमा रहेको इरानले एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै केवल एक खेल मात्र गुमाएको थियो। पूर्व राष्ट्रिय खेलाडी अमिर घालेनोई को प्रशिक्षणमा रहेको टोली पहिलो पटक समूह चरण पार गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

टोलीका कप्तान मेहदी तारेमी इरानका सर्वाधिक प्रभावशाली खेलाडी हुन्। राष्ट्रिय टोलीका लागि १०० भन्दा बढी खेल खेलिसकेका तारेमीले ५७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनीसँगै अलिरेजा जहाँबख्स, समान घोड्डोस र मेहदी मोहेबीजस्ता अनुभवी खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन्।

राजनीतिक घटनाक्रमका कारण इरानले अमेरिकामा तय गरिएको प्रशिक्षण शिविर मेक्सिकोमा सारेको छ। यद्यपि मैदानमा भने टोलीले आफ्नो ध्यान पूर्ण रूपमा फुटबलमै केन्द्रित गर्ने प्रयास गरिरहेको छ।

बेल्जियम : स्वर्णिम पुस्ताको अन्तिम अवसर ?

कागजमा हेर्दा समूह ‘जी’ को सबैभन्दा बलियो टोली बेल्जियम हो। विश्व फुटबलमा लगातार प्रतिस्पर्धी शक्ति बनेको बेल्जियमले यसपटक १५औँ विश्वकप खेल्दैछ।

रुस विश्वकप २०१८ मा सेमिफाइनल पुगेको बेल्जियम चार वर्षअघि कतारमा भने समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यसपटक टोली पुनः आफ्नो प्रतिष्ठा स्थापित गर्ने लक्ष्यमा छ।

प्रशिक्षक रुडी गार्सिया को नेतृत्वमा बेल्जियमसँग अनुभव र युवाशक्तिको उत्कृष्ट मिश्रण छ। केभिन डी ब्रुयना अझै टोलीका प्रमुख खेल निर्माता हुन् भने जेरेमी डोकु, लियान्ड्रो ट्रोसार्ड र चार्ल्स डी केटेलाएरले आक्रमणलाई धार दिनेछन्।

गोलकिपर थिबाउट कोर्टुवा विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक मानिन्छन्। यद्यपि स्ट्राइकर रोमेलु लुकाकुको फिटनेस अवस्था बेल्जियमका लागि चिन्ताको विषय बनेको छ।

इजिप्ट : सालाहको अन्तिम ठूलो अवसर

अफ्रिकी फुटबलको परम्परागत शक्ति इजिप्ट तीन पटक विश्वकप खेलिसकेको भए पनि हालसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन।

यसपटक पनि टोलीको केन्द्रबिन्दु कप्तान मोहम्मद सालाह नै हुनेछन्। इजिप्टियन फुटबल इतिहासकै महान खेलाडी मानिने सालाहले विश्वकपमा आफ्नो छाप छोड्ने अन्तिम अवसरका रूपमा यस प्रतियोगितालाई लिन सक्छन्।

लिभरपुलमा सफल करियर बिताएका सालाहको भविष्यबारे अहिले विश्व फुटबलमा व्यापक चर्चा भइरहेको छ। विश्वकपपछि उनी कुन क्लबबाट खेल्नेछन् भन्ने विषयले समर्थकहरूको ध्यान तानेको छ।

इजिप्टका प्रशिक्षक होसाम हसन राष्ट्रिय टोलीका सर्वकालीन उच्च गोलकर्ता हुन्। खेलाडीका रूपमा जस्तै प्रशिक्षकका रूपमा पनि देशलाई ऐतिहासिक सफलता दिलाउने उनको लक्ष्य छ।

ओमार मामुश, महमुद ट्रेजेगुएट र इब्राहिम एडेलजस्ता खेलाडीको साथले इजिप्टलाई समूहको दोस्रो स्थानका लागि बलियो प्रतिस्पर्धी बनाएको छ।

न्युजिल्यान्ड : दबाबमुक्त टोली

फिफा वरीयतामा समूह ‘जी’ को सबैभन्दा तल्लो स्थानमा रहेको न्युजिल्यान्ड यस विश्वकपको अन्डरडग टोली हो। विश्वकपमा तेस्रो पटक सहभागिता जनाउन लागेको ओसियानियन राष्ट्रले हालसम्म समूह चरण पार गर्न सकेको छैन।

प्रशिक्षक डारेन बाजेलीको नेतृत्वमा रहेको टोलीको मुख्य आशा कप्तान क्रिस उडमाथि टिकेको छ। अन्तर्राष्ट्रिय फुटबलमा ४५ गोल गरिसकेका उड चोटबाट पुनरागमनको प्रयासमा छन्।

यद्यपि न्युजिल्यान्डसँग गुमाउन धेरै केही छैन। दबाबमुक्त अवस्थामा खेल्ने भएकाले टोलीले ठूला राष्ट्रहरूलाई आश्चर्यमा पार्न सक्ने सम्भावना भने रहन्छ।

समूह ‘जी’ को सम्भावित समीकरण

समूह ‘जी’ मा बेल्जियम स्पष्ट रूपमा शीर्ष स्थानको दाबेदार देखिन्छ। दोस्रो स्थानका लागि भने इरान र इजिप्टबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

इरानले आफ्नो राजनीतिक र मानसिक दबाबलाई मैदानबाहिर राख्न सके समूह चरण पार गर्ने सम्भावना बलियो देखिन्छ। इजिप्टका लागि सालाहको प्रदर्शन निर्णायक बन्न सक्छ भने न्युजिल्यान्डले अघोषित ‘स्पोइलर’ को भूमिका खेल्न सक्छ।

समूह ‘जी’ खेल तालिका (नेपाली समयअनुसार)

  • बेल्जियम vs इजिप्ट — जुन १६, बिहान १२:४५ बजे (सियाटल)
  • इरान vs न्युजिल्यान्ड — जुन १६, बिहान ६:४५ बजे (लस एन्जलस)
  • बेल्जियम vs इरान — जुन २२, बिहान १२:४५ बजे (लस एन्जलस)
  • न्युजिल्यान्ड vs इजिप्ट — जुन २२, बिहान ६:४५ बजे (भ्यान्कोभर)
  • इजिप्ट vs इरान — जुन २७, बिहान ८:४५ बजे (सियाटल)
  • न्युजिल्यान्ड vs बेल्जियम — जुन २७, बिहान ८:४५ बजे (भ्यान्कोभर)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ