सातदोबाटो टेनिसमा भारत, पाकिस्तान र श्रीलंकाको दबदबा

काठमाडौं, बैशाख १ गते।
भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत मंगलबार आ-आफ्ना खेलमा जित हात पारेका छन्।

दोहोरो जित हात पारेको भारतले ब्वाइज तथा गर्ल्स दुवै विधामा प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको हो। दुवै विधामा भारतका लागि यो पहिलो खेल थियो।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। त्यस्तै, सोही समूहको गर्ल्सतर्फ भारतले माल्दिभ्समाथि पनि ३–० कै जित निकाल्यो। भुटान र माल्दिभ्सका लागि भने यो लगातार दोस्रो हार हो। यसअघि सोमबार भएको उद्घाटन दिनमा श्रीलंकाले ब्वाइजतर्फ भुटान र गर्ल्सतर्फ माल्दिभ्सलाई पराजित गरेको थियो।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत ब्वाइज समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० ले हराउँदै सशक्त प्रदर्शन गर्‍यो। पहिलो दिन नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो।

यता, गर्ल्स समूह ‘ए’ अन्तर्गत भएको अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई ३–० ले सहजै हरायो। योसँगै श्रीलंकाले लगातार दोस्रो जित दर्ता गरेको छ भने पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो दिन पाकिस्तानलाई नेपालले पराजित गरेको थियो।

बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी यस प्रतियोगिताबाट ब्वाइज र गर्ल्स दुवै विधामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरू एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्। उक्त एसियाली प्रतियोगिता यसै वर्ष सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा आयोजना हुने कार्यक्रम रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ