आदिवासी जनजातितर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा कर्माछिरिङ शेर्पाको उम्मेदवारी

रामनगर, दाङ, २०८३ असोज २० गते

अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत हुन्। उनले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन्। पार्टीको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै आदिवासी जनजाति, युवा पुस्ता तथा खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता र नेतृत्वलाई बलियो बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

राजा महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएपछि पुनःस्थापित नेपाल तरुण दलको कार्यालय सचिव तथा केन्द्रीय सदस्यका रूपमा समेत काम गरेका शेर्पा बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएर कांग्रेस राजनीतिमा सक्रिय भएको बताउँछन्। पार्टीलाई बीपीको विचार र सिद्धान्तअनुसार अघि बढाउने एजेन्डासहित आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

जनजाति प्रतिनिधित्वदेखि खेलकुद सुधारसम्मको यात्रा

दुई दशकभन्दा लामो समयदेखि नेपाली फुटबलको विकासमा सक्रिय शेर्पा एन्फाका निवर्तमान अध्यक्ष हुनुका साथै ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन्।

२०७५ सालमा एन्फा अध्यक्ष निर्वाचित भएपछि उनले नेपाली फुटबललाई काठमाडौंकेन्द्रित संरचनाबाट बाहिर विस्तार गर्दै जिल्ला तथा प्रदेश तहसम्म पुर्‍याउने योजनालाई प्राथमिकता दिएका थिए। उनको नेतृत्वमा जिल्लास्तरमा प्रशिक्षण केन्द्र तथा फुटबल गतिविधि विस्तार, ग्रासरुट फुटबलको विकास र क्लबहरूलाई आर्थिक रूपमा सक्षम बनाउने विषयले प्राथमिकता पाएका थिए।

खेलकुद क्षेत्रको संस्थागत सुधार, पारदर्शिता र नियममा आधारित सञ्चालनमा जोड दिँदै आएका शेर्पाले खेलकुदलाई मनोरञ्जनको क्षेत्रका रूपमा मात्र नभई युवा सशक्तीकरण, रोजगारी सिर्जना र आर्थिक विकासको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै आएका छन्।

कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका शेर्पाले पार्टीको नीति निर्माण तहमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व बढाउनुका साथै खेलकुद क्षेत्रका मुद्दालाई पनि प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ