शैक्षिक सत्र २०८३ को सम्बन्धमा केही कुरा

लेखक: भानु जीएम

विगतमा शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुन्थ्यो । जस अन्तर्गत वैशाख २ गतेदेखि भर्ना अभियान संचालन हुन्थ्यो भने वैशाख १० गतेदेखि पठनपाठन सुरु गरिन्थ्यो । यसपालि भने शिक्षा मन्त्रालयले वैशाख १५ गतेदेखि मात्रै शैक्षिक सत्र सुरु हुने गरी निर्देशन जारी गरेको छ । जस अन्तर्गत वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गरेर वैशाख २१ गतेदेखि मात्रै पठनपाठन सुरु हुने गरी निर्देशन गरिएको छ ।

विडम्बना यसपालि के भयो भने संघीय सरकारले जारी गरेको निर्देशन केही स्थानीय तहहरुले अक्षरश: पालना गर्न आनाकानी गरिरहेका छन् । उदाहरणका लागि दाङको राप्ती गाउँपालिकाले वैशाख ४ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख १५ गतेदेखि पठनपाठन सुरु गर्ने गरी आफू मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ । त्यसैगरी प्यूठानको झिमरुक गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरी वैशाख १० गतेदेखि पठनपाठन सुरु गर्न आफू मातहतका विद्यालयहरूलाई निर्देशन दिइसकेको छ । उता तनहुँको देवघाट गाउँपालिकाले पनि वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरी वैशाख ६ गतेदेखि पठनपाठन सुरु गर्न आफू मातहतका विद्यालयहरूलाई निर्देशन दिएको छ ।

यी माथि उल्लेख गरिएका पालिकाहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन् । यसप्रकारको अन्योल र दोधार अरु पालिकाहरुमा पनि देखिन्छ । यो पंक्तिकारलाई लागेको कुरा चाहिँ के हो भने संघीय सरकारको निर्देशन अवज्ञा गरिहाल्नुपर्ने कारण देखिन्न किनभने बढीमा ५- १० दिनको अन्तर मात्रै देखिन्छ । यस्तो अवस्थामा स्थानीय तहहरुको अहमता र हामी त सर्वेसर्वा हौँ नि हामीले आफ्नो हिसाबले चल्न पाउनुपर्छ भन्ने मान्यताले काम गरेको जस्तो लाग्छ ।

यति भइसकेपछि शिक्षा मन्त्रालयले पनि तारन्तार विज्ञप्ति निकालेर मात्रै हुँदैन । आवश्यक नियमन , समन्वय र सहजीकरण गर्न आवश्यक छ । जे होस् माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई छ भनेर मनलाग्दी गर्ने हो भने यो त बिचित्रको अनुहार देखिन सक्छ । त्यसैले कम्तिमा शैक्षिक सत्र सुरुवात गर्ने विषयमा देशभर एउटै तालिका अनुसार गर्नु नै उपयुक्त हुन्छ । त्यसको लागि शिक्षा मन्त्रालयको कार्यतालिका अनुसार अघि बढ्नु नै सर्वोत्तम विधि हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ