असार २७ मा ‘कोहलपुर माइल’ हुँदै: विश्वव्यापी ‘वन ग्लोबल माइल’ अभियानमा नेपालको सहभागिता

नेपालगन्ज ४ गते।
विश्वभर दौड संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘वन ग्लोबल माइल’ अभियान अन्तर्गत नेपालमा पनि यस वर्ष असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ।

हरेक वर्ष जुलाई ११ मा मनाइने यो विशेष दौड कार्यक्रम ‘एक माइल, एक दिन, एक विश्व’ भन्ने नाराका साथ विश्वका दर्जनभन्दा बढी देशमा एकैदिन आयोजना गरिन्छ। यस अभियान अन्तर्गत १.६०९ किलोमिटर दूरीको दौड एकैसाथ विभिन्न देशमा सञ्चालन हुने गर्दछ।

नेपालमा आयोजना हुन लागेको ‘कोहलपुर माइल’ बारे जानकारी दिँदै रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले यो दौड सबै उमेर समूहका लागि उपयुक्त हुने बताए। “यो करिब डेढ किलोमिटरको रोड रेस भएकाले बालबालिकादेखि वृद्धसम्म सबैले सजिलै सहभागिता जनाउन सक्छन्,” उनले भने।

उक्त दौड ‘रेस नेपाल’को आयोजनामा हुन लागेको हो भने यसको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ। कोहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत समावेश गरिएको छ, जसले यसलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

‘वन ग्लोबल माइल’ को अवधारणा अमेरिकाको न्यूयोर्कस्थित ‘ह्युडसन माइल’ बाट विस्तार हुँदै विश्वव्यापी अभियानको रूपमा विकसित भएको हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन Association of International Marathons and Distance Races (एम्स)ले आधिकारिक रूपमा प्रवर्द्धन गर्दै आएको छ।

रेस डाइरेक्टर गुरुङका अनुसार, ह्युडसन माइलका सहसंस्थापक तथा रन बंगलाका सिइओ Jon Boka र एम्सका दूत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक TS Thakuri को विशेष पहलमा ‘वन ग्लोबल माइल’ अभियान विश्वव्यापी रूपमा विस्तार भइरहेको हो।

नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत यसअघि नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन तथा राप्तीसोनारी नेचर रन जस्ता प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन्।

एम्सका दूत टीएस ठकुरीले ‘वन ग्लोबल माइल’ मा सहभागिता जनाउन एम्ससँगको आवद्धता अनिवार्य हुने जानकारी दिँदै यस अभियानले विश्वभर दौड संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कोहलपुर माइलले नेपालमा दौड संस्कृतिलाई अझ व्यापक बनाउने र नयाँ धावकहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ